सन्तोष गौतम

म्याग्दी बिहिबार मंसिर २० गते । म्याग्दीका एक जनप्रतिनिधिले सरकारले जनप्रतिनिधिको तलबको रुपमा उपलब्ध गराएको रकम दुर्गम गाउँको विद्यालयलाई सहयोग गर्नुभएको छ ।

मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले वडा न। ५ सिर्कुममा रहेको किसानी आधारभुत विद्यालयलाई मंगलबार तीन लाख पचास हजार रुपैयाँ सहयोग उपलब्ध गराउनुभएको हो । अध्यक्ष रोकाले उपलब्ध गराएको रकम भवन निर्माणका लागि १५ आना जग्गा खरिद गर्दा लागेको ऋण तिरीने प्रअ रेशम सापकोटाले बताउनुभयो । जग्गा किन्दा लागेको ऋण तिर्न नसकेर समस्यामा परेका सिर्कुमबासीलाई सहयोगले राहत मिलेको छ । भवन अभावमा बालबालिकाहरुले खुल्ला चौरमा बसेर पढ्नुपर्ने बाध्यता देखेर चुनाव प्रचारका क्रममा गरेको सहयोगको घोषणा कार्यान्वयन गरेको बताउदै अध्यक्ष रोकाले आगामी दिनमा पनि तलब वापत प्राप्त हुने सुबिधा समस्यामा परेका सामुदायिक विद्यालयलाई सहयोग गर्ने घोषणा गर्नुभयो । रोका स्थानीय तह चुनावमा तत्कालीन नेकपा एमालेबाट उमेद्वार बनेका थिए ।

शिक्षा विकास तथा समन्वय इकाईको १६ लाख रुपैयाँ अनुदानमा निर्माण भएको दुई कोठे भवनको उद्घाटनका अवसरमा गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले अध्यक्ष रोकालाई सम्मान गर्नुभएको थियो । मन्त्री पुनले दुर्गम र ग्रामिण क्षेत्रमा आवासीय विद्यालय सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । कक्षा ५ सम्मको अनुमती पाएको विद्यालयले वि।स २०७२ देखि कक्षा ६ को पठनपाठन सुरु गरेको थियो । तह थप भएपछि भवन अभावमा पठनपाठनमा समस्या भएको थियो । हाल कक्षा ८ सम्मको पठनपाठन हुने विद्यालयमा १६५ जना विद्यार्थी छन् । शिक्षा कार्यालयको सहयोगमा दुई÷दुई कोठे दुई वटा भवन निर्माण गरेपछि पठनपाठन सहज भएको शिक्षिका जमुना शर्माले बताउनुभयो । कक्षा ८ की छात्रा रविना बिकले खुल्ला चौर र जिर्ण भवनमुनी बसेर पढ्नुपर्ने बाध्यता हटेकोमा खुसी व्यक्त गर्नुभयो । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित सिर्कुम गाउँका बालबालिका मावि तहको विद्यालय टाढा हुँदा ५ कक्षादेखि माथिको शिक्षा हाँसील गर्नबाट बञ्चित हुने समस्या हटाउन निजी स्रोतका शिक्षकको व्यवस्था गरेर कक्षा ८ सम्मको पठनपाठन सञ्चालन गरेको व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर खत्रीले बताउनुभयो । निजी स्रोतका चार जना शिक्षकको तलबका लागि स्थानीयबासीले मासिक पचास हजार रुपैयाँको हाराहारीमा जुटाउने गरेका छन् ।

विद्यालयमा १० जना शिक्षक छन् । कक्षा ८ सम्मको पठनपाठन सुरु भएपछि बिचैमा पढाई छोड्ने दर घटेको छ । सिर्कुम गाउँमा १०० घरधुरीको बसोबास छ । उनिहरुले चन्दा संकलन गरेर विद्यालय सञ्चालन गरेका छन् । निजी स्रोतबाट सञ्चालित सामुदायिक विद्यालयहरुलाई एक÷एक जना शिक्षकको व्यवस्था गर्न यस वर्ष २५ लाख रुपैयाँ बिनियोजन गरेको गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले बताउनुभयो ।

Loading...

प्रतिक्रिया दिनुहोस्