काठमाडाैँ शुक्रबार मंसिर १४ गते ।
कांग्रेसका जिल्ला सभापतिहरूको नुवाकोटको ककनीमा आयोजित दुईदिने भेलाले ३८ बुँदे घोषणापत्र जारी गरेको छ । जसमा जिल्ला सभापतिलाई थप शक्तिशाली बनाउन प्रस्ताव गरिएको छ । भेलामा कांग्रेसको संशोधित विधानको मस्यौदामाथि छलफल भएको थियो ।

छलफलमा सहभागीले जिल्ला सभापतिलाई अहिलेभन्दा शक्तिशाली बनाउन विधानमै व्यवस्था गर्नुपर्नेमा जोड दिएको नुवाकोट कांग्रेसका सभापति जगदीश्वरनरसिंह केसीले बताए । विधानको मस्यौदा संशोधनका लागि २४ प्रस्ताव र समसामयिक विषयमा १४ बुँदासहित ३८ बुँदे घोषणापत्र जारी गरेर भेला सम्पन्न भएको केसीले बताए ।

५१ जिल्लाका सभापतिको बुधबार र बिहीबारको भेलाले सम्बन्धित कार्यसमितिबाटै उम्मेदवारको टुंगो लगाउने व्यवस्था गर्न माग गरेको छ । जिल्ला, प्रदेश र केन्द्रीय संसदीय बोर्डको व्यवस्था गर्न माग गरेको छ । त्यस्तै, गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाको अधिवेशन वडा तहबाट आएका क्षेत्रीय प्रतिनिधि गर्ने व्यवस्था गर्न, सदस्यता वितरण प्रक्रियालाई प्रभावकारी र सरलीकृत गर्न पनि प्रस्ताव गरिएको छ ।

साधारण, क्रियाशील सदस्य रहने व्यवस्था भएको कांग्रेसमा अब सम्मानित सदस्यको व्यवस्था थप्न पनि माग गरिएको छ । त्यस्तै, स्थानीय तहका सभापतिहरू उपल्लो समितिको पदेन सदस्य रहने व्यवस्था गर्न, जिल्ला, क्षेत्रीय कार्यसमितिका पदाधिकारी नियुक्ति गर्दा महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यबाट गर्न पाइने व्यवस्था गर्न, स्थानीय, प्रदेश र संघीय संसद्मा निर्वाचित पार्टी सदस्यहरू सम्बन्धित तह तथा जिल्ला कार्यसमितिप्रति उत्तरदायी रहने व्यवस्था गर्न पनि जिल्ला सभापतिहरूले माग गरेका छन् ।

यस्तै, पदाधिकारी संख्या बढाउनुपर्ने, पार्टी नेता–कार्यकर्ताको मर्यादाक्रम पार्टी विधानको अनुसूचीमै व्यवस्था गर्नुपर्ने, कुनै पनि तहमा चुनाव लडेका पार्टी सदस्यलाई सोही पदमा मनोनीत नगरिने व्यवस्था गर्नुपर्ने, समानुपातिक प्रणालीबाट एकपटकभन्दा बढी अवसर नदिने व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।

कांग्रेस जिल्ला सभापतिहरूले जिल्ला तहदेखि केन्द्रीय तहसम्म प्रवक्ता राख्ने व्यवस्था गर्नुपर्ने, एउटै व्यक्तिलाई एकपटकभन्दा बढी समानुपातिक तथा मनोनीत गर्न नहुने व्यवस्था गर्न पनि माग गरेका छन् । कांग्रेस महासमितिको बैठक २८ मंसिरदेखि ३ पुससम्म काठमाडौंमा आयोजना हुँदैछ । त्यसका लागि विधान संशोधन मस्यौदा तयार गरिएको छ । त्यही मस्यौदामा आफ्नो धारणा राख्न जिल्ला सभापतिहरू भेला भएका थिए ।

सरकारको विरोध
कांग्रेस जिल्ला सभापतिहरूले सरकार गैरजिम्मेवार भएको निष्कर्ष निकाल्दै विरोध गरेका छन् । न्यायपालिका, पत्रकारिता र विभिन्न पेसा तथा व्यवसायमा सरकारले हस्तक्षेप गरेको जनाउँदै विधिको शासनविपरीत भएको ठहर गरेको छ ।

त्यस्तै, सनुकाण्ड, निर्मला हत्याकाण्डजस्ता विषयमा सरकार लाचार भएको, सरकारी ढुकुटीबाट कार्यकर्ता पोसेकोलगायत विषयको पनि उनीहरूले विरोध गरेका छन् । मूल्यवृद्धि, कालोबजारी, हत्या, हिंसा, बलात्कार, दण्डहीनता, भ्रष्टाचार बढेको उल्लेख गर्दै सरकारलाई सचेत गराएका छन् ।नयाँपत्रिका

Loading...