बेनी साेमबार  मङसिर १० गते । बेनीमा मंगलबारदेखि सुरु हुन लागेको १७ औ अन्तर मा।वि जेसीज कप फुटबल प्रतियोगिता–२०१८ को तयारी पुरा भएको छ ।

म्याग्दी जेसीजले आइतबार बेनीमा पत्रकार सम्मेलन गरेर मंसिर १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको आर्थिक, व्यवस्थापकीय, प्रचारप्रसार, पूर्वाधार निर्माण लगायतका तयारी पुरा भएको जानकारी गराएको हो ।

प्रतियोगिताका संयोजक जेसीजका महासचिव विरेन्द्र श्रेष्ठले १८ वटा उपसमिति गठन गरेर तयारी पुरा गरिएको जानकारी दिनुभयो । सोमबार ३ बजे जेसीज सचिवालयमा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले उद्घाटन गर्नुहुने प्रतियोगिताको मंगलबार बिहानदेखि नियमित खेल हुने भएको छ ।प्रतियोगितामा २० देखि २५ विद्यालयले सहभागिता जनाउने आयोजकको अपेक्षा छ ।

प्रतियोगिताको बिजेतालाई जेसीजकप, ट्रफि, मेडल, प्रमाण–पत्र र नगद ४० हजार तथा उपबिजेतालाई ट्रफि, मेडल, प्रमाण–पत्र र नगद २५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको म्याग्दी जेसीजका प्रवत्ता सुजन बरुवालले जानकारी दिनुभयो ।

अनुशासित टिमलाई पाँच हजार पाँच सय, उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वाधिक गोलकर्ता, प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र प्लेयरलाई एक हजार पाँच सय रुपैयाँ नगद, मेडल र प्रमाण–पत्र प्रदान गरिने भएको छ ।

सात लाख ६८ हजार रुपैयाँ बजेट खर्च हुने अनुमान गरिएको प्रतियोगितामा सन्तोष स्मृति अक्षयकोष मुख्य प्रायोजक रहेको म्याग्दी जेसीजका अध्यक्ष कमल विश्वकर्माले बताउनुभयो ।

बेनीका दिवंगत पूर्व खेलाडी सन्तोष श्रेष्ठको स्मृतिमा उहाँका परिवारले दुई लाख पचास हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ । विगत १७ वर्षदेखि बेनीमा निरन्तर रुपमा सञ्चालन हुदै आएको जेसीजकप जिल्लाको प्रतिष्ठित खेलकुद प्रतियोगिता मानिन्छ ।

Loading...