म्याग्दी, सोमबार १८ गते।
घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीमा अनुदान र औजार वितरणका क्रममा चरम लापारबाहि भएको आरोप लागेको छ । केही कर्मचारीहरुले कमीसन, भनसुन र पहुँचको आधारमा नगद अनुदान र औजार वितरणका क्रममा सरकारी बजेटमा चलखेल गरेको उद्यमीहरुले गुनासो गरेका छन् ।

एउटै व्यक्ति तथा फर्मलाई बर्षेनी अनुदान दिने, साना उद्यमीको सुबिधामा पहुँचवालाको हालीमुहाली भएको, औजार खरिद र अनुदान वितरण प्रक्रिया पारदर्शी नभएको, उद्यमीले खरिद गर्नुपर्ने सामान कर्मचारी आफैले कम गुणस्तर तथा मूल्य पर्ने किनेर वितरण गरीदा चलखेल र अनियमितताको शंका गरीएको छ ।

साना उद्यमीको लागि सञ्चालीत उपयुक्त प्रबिधी हस्तान्तरण कार्यक्रमको अनुदान वितरणका लागि ठूला ब्यापारी भनिएका एकै घरका बुवाछोराले सञ्चालन गरेका फरक फरक उद्योग, सञ्चालनमा नरहेको निश्क्रिय फर्मलाई मिलेमतोमा अपारदर्शी हिसाबले छनौट गरीएको बेनपा ९ तोरीपानीको धौलागिरि व्यवसायिक बाख्रापालन फर्मका सञ्चालक कृष्ण रिजालले बताउनुभयो ।
२३ लाख २४ हजार रुपैयाँ बिनियोजित उक्त अनुदान कार्यक्रमका लागि ४० जनाको निवेदन परेकोमा आईतबार बसेको मूल्याङ्कन समितिको बैठकले २४ जनालाई छनौट गरेको थियो । अपारदर्शी ढंगले अनुदान वितरण हुन लागेको भन्दै उद्यमीहरुको एक समूहले बुधबार जिल्ला प्रशासन र समितिको कार्यालयमा उजुरी दर्ता गरेका छन् ।

एक लाख रुपैयाँ अनुदानका लागि कर्मचारीले छ हजार रुपैयाका दरले अतिरीक्त रकम (कमीसन) मागेको उद्यमीहरुले गुनासो गरेका छन् । सञ्चालनमा नरहेका र लगातार तीन वर्षसम्म अनुदान पाईरहेका फर्म छनौट हुनु न्यायोचित नभएकाले छानवीन गरी पारदर्शी रुपमा अनुदान वितरण हुनुपर्ने बरदान पशुपंक्षी फर्मका सञ्चालक दुर्गाप्रसाद पौडेलले बताउनुभयो ।
समितीका कार्यालय प्रमुख शंकरराज झाँले केही कर्मचारीहरुको शंकास्पद र अपारदर्शी गतिबिधीका कारण कार्यक्रम कार्यान्वयनमा समस्या र बिवाद सिर्जना भएको बताउनुभयो । लेखापाल निलबहादुर भण्डारीले आर्थिक वर्षको अन्तसम्म पनी आफूलाई बजेट र कार्यक्रमबारे जानकारी नदिएको प्रमुख झाले बताउनुभयो ।

लेखापाल भण्डारीले प्रक्रिया र कार्यबिधी अनुसार तोकिएको मापदण्ड पुगेका उद्यमीलाई ९२ हजार रुपैयाका दरले अनुदान दिने निर्णय भएको बताउदै अपारदर्शी र न्यायोचित नभएको भन्ने आरोपको खण्डन गर्नुभयो । अनुदानमा साना उद्यमीहरुलाई वेवास्ता गरिनु र पन्छाइन खोज्नु रहस्यको विषय भएको घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष लिलाराम गौतमले बताउनुभयो ।

Loading...