म्याग्दी जिल्लालाई सोमबार साक्षर जिल्लाका रुपमा घोषणा गरिएको छ ।जिल्ला भित्र बसोबास गर्ने १५ वर्षदेखि ६० वर्ष उमेर समूहका कुल जनसङ्ख्या मध्ये ९६ दशमलव २७३ प्रतिशत जनसङ्ख्या साक्षर भएसंगै साक्षर जिल्ला घोषणा गरिएको हो ।‘हाम्रो गौरव हाम्रो पहिचान,साक्षर म्याग्दी हाम्रो स्वाभिमान’ भन्ने मूल नारासहित जिल्ला अनौपचारिक शिक्षा समिति र जिल्ला शिक्षा कार्यालयको आयोजनामा भएको घोषणा समारोहको उद्घाटन गदैं प्रतिनिधिसभाका सदस्य भुपेन्द्र बहादुर थापाले आगामी दिनमा समेत साक्षर जिल्लाका लागि आवश्यक पर्ने थप अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।


समारोहमा प्रदेशसभा सदस्य नरदेवी पुन र विनोद केसी,शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल,बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले साक्षरता मानव विकास सूचांकको एउटा महत्वपूर्ण सूचक भएकाले राज्यबाट साक्षर नागरिक बनाउन ठुलो लगानी भएको बताएका थिए । समारोहको अवसरमा सामुदायिक विद्यालयको तर्फबाट बेनी सामुदायिक माविका प्रधानध्यापक दिपक श्रेष्ठ, पत्रकार महासंघ म्याग्दीका सचिव गोरखनाथ सुबेदी, धौलागिरी माविका ब्यवस्थापन समितिका अध्यक्ष भगवान खड्का लगाएतले साक्षर समाजको महत्व र चुनौतीका बारेमा बोलेका थिए । जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले राष्ट्रिय मापदण्ड अनुसार लक्षित समुदायका ९५ प्रतिशतभन्दा बढी नागरिकले अङ्क र अक्षर लेखपढ गर्न सक्ने भएपछि साक्षर वडा, स्थानीय तह र जिल्ला घोषणा गर्न सकिने व्यवस्था रहेको बताए । उनले २०६७÷६८ मा जिल्लाभित्र १५ देखी ६० बर्ष उमेरका १९ हजार ८४२ जना निरक्षर भेटिएको बताएका थिए ।


उनले निरक्षर उन्मुलन अभियानका लागि साविकका गाविसका उच्चतम विद्यालयले घरधुरी तथ्याङ्कन, सहजकर्ता छनौट, सामुदायिक सिकाई केन्द्र, वडास्तरमा समेत कक्षा सञ्चालन गरिएको बताए । उनले जिल्लामा अझै ३ हजार ८७ निरक्षर रहेको तथ्याङ्क सार्वजनिक गरेका थिए । जिल्ला शिक्षा कार्यालयको तथ्याङ्क अनुसार म्याग्दीको कुल जनसङ्ख्या एकलाख २५ हजार ९४४ रहेको छ भने कुल घरधुरी २२ हजार १९० रहेको उल्लेख छ। आर्थिक वर्ष २०६८÷६९ बाट साक्षर घोषणाको अभियान थालनी गरिएको थियो । जिल्ला शिक्षा कार्यालयले गरेको घरधुरी सर्वेक्षणको तथ्याङ्क अनुसार म्याग्दीमा १६ देखि ६० वर्ष उमेर समूहका ८२ हजार ८२६ जनसङ्ख्यामध्ये ७९ हजार ७३९ जना नागरिक साक्षर बनेको अनौपचारिक शिक्षा समितिका संयोजक एवं जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर कटुवालले बताए। उनका अनुसार लक्षित समुदायका ९५ प्रतिशतभन्दा बढी नागरिकले अङ्क र अक्षर लेखपढ गर्न सक्ने भएपछि साक्षर वडा, स्थानीय तह र जिल्ला घोषणा गर्ने मापदण्ड अनुसार घोषणा गरिएको बताए । समारोहको सञ्चालन विद्यालय निरिक्षक विश्वप्रकाश रेग्मी, स्वागत शाखा अधिकृत दल बहादुर थापा र अध्यक्षता अनौपचारिक शिक्षा समितिका संयोजक एवं जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर कटुवालले गरेका थिए । घोषणा कार्यक्रमको अवसरमा सामुदायिक तथा निजी विद्यालयले बेनीबजारको परिक्रममा तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

-हरिकृष्ण गौतम

Loading...

1 टिप्पणी

Comments are closed.