म सानै छु, बन्दुक किन चलाउनु ?

‘शत्रुलाई ठोक्नुपर्छ नि बन्दुकले लाटी !’ काकाले भने ।

शत्रु भनेको को हो ? १२ वर्षको बाल मस्तिष्कले काकाको शत्रु चिनेन बुझेन ।

सेना–प्रहरी हुन् हाम्रा शत्रु । प्रतिउत्तरमा काकाले भने ।

‘मेरो भिनाजु पनि सेनामा हुनुहुन्छ । के गर्छन र आर्मी पुलिसले ? चाहिँदैन बन्दुक, घर लगिदिनु ।’

अब तँ त माओवादी भइसकिस् । घर गइस भने आर्मी पुलिसले मार्छन् ।

१२ वर्षकी बालिकालाई माओवादी बनाउने प्रयासका क्रममा भएको वार्तालाप थियो यो । १२ वर्षकी बालिका रविका तामाङका काका माओवादीमा थिए ।

माओवादीले आयोजना गर्ने विभिन्न साँस्कृतिक कार्यक्रममा रविकालाई काकाले नै लैजान्थे । सानी बच्चीलाई यसरी माओवादीका कार्यक्रममा लैजादाँ रबिकाकी आमा उनका काकादेखि आक्रेशित थिइन् । उनलाई घरमा पढ्न दिइएको थिएन । छोरी मान्छेले पढ्नु हुन्न भन्ने भ्रम उनको बाबुआमाको मनसपाटलमा थियो । दुई दाजभाईलाई भने बाबुआमाले विद्यालय पठाउँथे ।

पढ्छु भनेर ढिपी पनि गर्न सक्ने अवस्थामा थिइनन् उनी । आमा, काकाले नै पढाईलाई महत्व नदिएपछि बालखको मनले धेरै सोच्न सक्दैन थियो । तर, उनलाई पढ्ने लेख्ने औधी इच्छा थियो । आमा बाबुले संसार देखाएका हुन्, उनीहरुसँग मुख लाग्नु हुन्न भन्ने चेतनाले उनको मनमा गहिरो छाप पारेको थियो । त्यसकारण उनी चुपचाप बस्थिन । अरु विद्यालय गएको देख्दा उनलाई पनि जान रहर लाग्थ्यो । एक पटक घरमा भनेकी पनि थिइन्, ‘आमा म पनि स्कुल जान्छु ।’ छोरी मान्छे स्कुल जानु हुँदैन भनेर उनलाई हप्काइन्थ्योे ।

घरमा गोठालो जाने, मेलापात गर्ने, घरधन्दा गर्ने जस्ता काम हुन्थ्यो । काकाले माओवादीको कार्यक्रम देखाउन लैजान थाले पछि उनलाई पनि माओवादी बन्न मन लाग्यो । घरमा लैङ्गिक असमानता भोगेर बसेकी उनले त्यहाँँ महिला र पुरुषलाई समान व्यवहार गरेको पाइन् । पुरुषले गर्नेजस्तो सबै काम महिलाले पनि गर्दथे ।

यस्तो व्यवहार देखेपछि गाउँकी सामान्य बालिका आकर्षीत हुन स्वभाविक थियो । पटक पटक माओवादीको कार्यक्रममा जान थालेपछि माओवादीमा जाने उनले निर्णय गरिन् । खासमा त्यो उनको निर्णय भन्दा पनि एक बालिकाको भविष्य अध्यारो पार्ने उनकै नजिकका मानिसहरुको कदम थियो । विभिन्न विषय र प्रशंगले ती बालिकालाई युद्धमा जानुपर्छ भन्ने आभाष दिलायो ।

शुरुमै उनलाई बन्दुक पड्काउन सिकाइयो । जम्मा १२ वर्षकी थिइन् उनी । आफ्नो जीउ भन्दा भारी लाग्थ्यो उनलाई बन्दुक । शुरुको दिनमा बन्दुक पड्केको आवाजले तर्सेर बन्दुक फाल्दा उनको हातभरि घाउ भएको थियो ।

त्यही दिन तर्सेर काकालाई घर लग्दिनु भनेर उनी निकै रोइन् । तर, उनको त्यो रोदान त्यहाँ सुनुवाई भएन । विस्तारै बानी पर्दै गयो । उनी बन्दुक चलाउन अब्बल निस्किन थालिन् । आफू भन्दा ठूलो बन्दुक चलाएको देखेर सबै चकित पर्थे ।

खाना नखाई भोको पेट उनी ८ घण्टा युुद्धमा लडेकी छिन् । १४ वर्षकी केटिले त्यति बहादुरीकासाथ युद्ध लड्दा उनको खुबै प्रशंसा हुने गथ्र्यो । एक समयमा उनी माओवादीको कमान्डर पनि थिइन् । उनी ३०–३५ जालाई तालिम दिने गर्दथिन् ।

तर, समय सधैँ बलवान् नहुने रहेछ । युद्धमा होमिएपछि घाइते बनाउनु र घाइते पार्नु स्वभाविक हुन्छ । त्यस्तै लड्दै गरेको समयमा उनको खुट्टामा गोली लाग्यो । त्यति हुँदा पनि पिडालाई थाती राखेर यृुद्धमा लाग्नुपर्ने हुन्थ्यो ।

केही समय पछि यस्तै दोहारो भिडन्तमा खटिदाँ पछि फेरि छातीमा गोली लाग्यो । छातीको गोली अहिलेसम्म पनि निकालिएको छैन । त्यो समय आर्थिक स्थितिले पनि भ्याएन । त्यसपछि औषधि खाँदै आइरहेको उनले बताइन् ।

लडाइमा छँदा नै उनको त्यहीँ एक सहयोद्धासँग प्रेम थियो । उनको नाम थियो चट्टान । फौजमा हुँदा सबै कुरा त्यहाँ रहेका उच्च स्तरका नेताहरुलाई जानकारी गराउनुपर्ने हुन्थ्यो । उनीले पनि आफ्नो प्रेम सम्बन्धबारे जानकारी गराइन् । जानकारी पाएपछि उनीहरुको विवाह पार्टीबाटै गराइयो ।

ती घाउहरु निको नहुँदै उनको फेरी टाउकोमा पनि गोली लाग्यो । टाउकोमा लागेको गोलीले उनी १७ महिना कोमामा पुगिन् । गोली निकाल्न उनको टाउकोमा भएको कपाल सबै खौरिएको थियो । पछि होसमा आउँदा कपाल लामो भइसकेको देख्दा उनी आफै चकित परेकी थिइन् ।

टाउकोमा लागेको गोलीले उनी अहिलेसम्म पनि देब्रे आँखा राम्ररी देख्दिनन् । बाँकी छातीको गोलीको लागि डाक्टरले त्यसले कुनै असर नपार्ने भनेपछि औषधि खाइरहेकी छन् ।

शशत्र युद्ध थालिएको १० वर्षपछि शान्ति सम्झौता भयो । सेनामा जान चाहनेलाई जाँच लिएर सेनामा राखियो भने इच्छा नरहेकालाई पैसा दिएर पठाइयो । तर, त्यो समय उनी घाइते र अचेत अवस्थामा पल्टिएकी थिइन् । अन्ततः पार्टीबाट उनले केही सहयोग पाइनन् । त्यस दिनदेखि उनलाई पार्टीप्रति घृणा लागेर आयो ।

लडाइमा भिड्दा घाइते हुनु या मारिनु स्वभाविक हो । आफू माओवादीमा लागेको र युद्ध लडेकोमा उनलाई केही गुनासो छैन । ‘जुन पार्टीको लागि ज्यान दिएर भोक तिर्खा पनि नभनी लागि परियो त्यही पार्टीले आफ्नो योगदानको मूल्याङकन नगर्दा छाती पोलेर आउने रहेछ ।’ उनको गला अवरुद्ध भयो ।

उनी जिन्दगीभर आफ्ना पतिप्रति आभारी रहने बताउँछिन् । ‘जब मसँग कोही थिएन, मेरा पति नै मसँग थिए । म घाइते भएर अचेत भएको समयमा उहाँको ठूलो साथ पाएकी छु ।’ अहिले पनि उनलाई औषधि सेवन गरिरहनुपर्ने हुन्छ । औषधि खर्चमात्र महिनामा १५–१६ हजार जति हुने गरेको उनले बताइन् । जनवादी सत्ता स्थापनाका लागि सँगै बन्दुक बोकेका उनका पति अहिले जिन्दगी चलाउन मलेसियामा मजदुरी गर्दैछन् । पतिले नै सबै कुरा व्यहोरिरहेका छन् । आफ्नो एक छोरा निखिलका साथ हाल उनी बौद्धस्थित नयाँ बस्तीमा बस्दै आएकी छिन् ।

युद्धमा लागेकोमा उनलाई धेरै पछुतो छैन । तर १२ वर्षको बालमनोभावलाई युद्धतिर प्रेरित गर्नेहरु कुन अर्थमा सहि थिए ? उनको मनको प्रश्न अनुत्तरीत छ । उनको बालपनको सुन्दरता अधर्मीहरुले खोसी दिए । जसलाई उनीहरुले महान जनयुद्ध भनेर सिकाएका थिए, त्यसले अहिले शरिरमा गोली, पतिलाई विदेशको गुलामीमा पुर्याएको छ । जुन पार्टीका लागि जीवन अर्पण भयो, त्यो पार्टीकै उपेक्षामा पर्दा रबिकाको मन भारी हुन्छ । दिमाग तातो भएर आउँछ ।

अनि लाग्छ,

फेरि यस्तो युद्ध कसैले नलडोस् ।

प्रस्तुति– कञ्चन न्यौपाने

Loading...